"Simple methods to quit smoking from today"

Q uitting smoking is one of the best things you can do for your health. Smoking is a major cause of many serious health problems, including ...

Thursday, December 29, 2022

‘कोरोना लागेपनि आफ्नै छोरा हो, सँगै बस्छु’

डा. राकेश परियार
शनिबार, भदौ २७, २०७७


दाइ, आज कोभिड आइसियूका दुई बिरामी एक्सपाएर (मृत्यु) हुनुभयो,’ क्यान्टिनबाहिर बसिरहेका एक जना सर फोनमा कसैलाई भन्दै थिए । म दुई रेजिडेन्ड दाइसँग खाजा खान  क्यान्टिनतिर जाँदै थिए ।
 
 दिउँसोको करिब ४ बजेको थियो । कोरोना महामारीमै पनि हस्पिटलमा बिरामीको चाप कम भएको थिएन । बिहानको खाजापछि हामीले चिया पनि खान पाएका थिएनाैँ । क्यान्टिन बाहिर मेडिसिन वार्डका सरहरू कोरोनाकै विषयमा छलफल गर्दै रहेछन् ।
 
नेपथ्यबाट सरलाई सोधियो, ‘को को नि ?’ 
 
सरले जवाफ दिए, ‘दाइ, एक जना कोभिड बिरामी र अर्का ननकोभिड बिरामी । ननकोभिड बिरामीको हिजो भर्खर इन्टुबेट (कृत्रिम श्वासनली)  गरेका थियौं ।’ 
मेडिसिन वार्डका सरले इन्टर्नहरुलाई पनि रेजिडेन्ट सँगसँगै बेलुकीको कोभिड राउन्डमा जान भनेका थिए । आज मेरो पालो थियो कोभिड राउन्डमा जाने । 
 
 
खाजा खाँदै गर्दा  एक सरले हाम्रो हालखबर साेधे, र भने, ‘कोभिड केस निकै बढ्न थालेकाले केयर गरेर काम गर्नुहोस् ।’ 
एमबिबिएस इन्टर्नहरुका लागि यो नौलो अवसर भएको जानकारी पनि दिए । उनले भने,  ‘डनिङ डफिङ (पिपिई लगाउने तरिका) सिकिन्छ, नयाँ अवसर र अनुभव पनि हो । कोरोनाको बिरामी कस्ता हुँदो रहेछन्, कोरोना वार्ड र कोभिड आइसियूमा बिरामीको उपचार कसरी हुँदो रहेछ,  पाटन अस्पतालको कोरोना उपचार गर्ने प्रोटोकल कस्तो रहेछ र अनि हस्पिटलका कर्मचारी यस्तो विषम परिस्थितिमा कसरी काम गर्दै हुनुहुन्छ, थाहा हुन्छ ।’ उनी क्यान्टिनबाट बाहिर गए ।
 
एक सातामा स्वास्थ्यकर्मीले ६० घण्टाको ड्युटी गर्दा रहेछन् । कोरोनाका बिरामी थपिने मर्ने क्रम बढेकाले मनभरि डरत्रास छँदै थियो । नर्मल वार्डमा समेत कोरोना संक्रमण जोखिम  छैन भनेर भन्न सक्ने अवस्थामा पनि थिएन । इमर्जेन्सीबाट मेडिसिन वार्डमा बिरामी भर्ना गर्दा कोही कोभिड नेगेटिभ, कोही पोजेटिभ र कोहीसँग  रिपोर्ट नै हुँदैनथ्यो । हामी त्यस्ता बिरामीको स्वास्थ्य जाँच गर्थ्याैँ । हाच्छिउँ गर्दा पनि कता कता शंका लाग्थ्यो । र, सोच्थें– आज कुन कुन बिरामी हेरें, ती बिरामीलाई ज्वरो आएको थियो कि थिएन ? बिरामीको रिपोर्ट नेगेटिभ थियो कि थिएन ?
 
कोभिड नेगेटिभ भए पनि पिसिआरले कहाँ शतप्रतिशत नेगेटिभ हो भन्न सक्छ र ? लक्षण नभएका बिरामीलाई पनि त हेरेँ कि ?  यस्ता कुरा सम्झँदा मन आत्तिरहन्थ्यो ।
खाजा खाँदै गर्दा  रेजिडेन्ट दाइहरुसँग रातिको कोभिड राउन्डमा सहभागी हुने कुरा सुनाए । सायद त्यतिबेला मेरो अनुहार मलिन भएको थियो । उनीहरूले ढाडस दिँदै भने, ‘तिमी  डराउनै पर्दैन तिमीलाई पिपिई दिन्छन्, मास्क केएन ९५ दिन्छन्, सम्पूर्ण कुरा भित्रै हुन्छ । पहिलो दिन तिमीलाई अलि एन्जाइटी जस्तो भएको होला तर एक पटकभित्र गएपछि सबै कुरा नर्मल लाग्छ ।’ 
उनीहरुका कुराले केही ढुक्क भएँ । विदेशका घटना सम्झिएँ– पिपिई लगाउँदा लगाउँदै संक्रमणका कारण स्वास्थ्यकर्मीको मृत्यु भएको छ । पिपिईको पनि के भर र ? 
 
बेलुकी सात बजेतिर खाना खाएँ । र, कोभिड राउन्डका लागि तयार भएँ  । राउन्डमा रेजिडेन्ट दिदी, कार्डियोलोजिस्ट सर र म थियाैँ । सुरुमा हामी आइसोलेसन ए कक्षको नर्सिङ स्टेसनमा गयौं । क्रमैसँग सम्पूर्ण बिरामीको फाइल हेर्‍यौं । बिरामीको अवस्था र औषधी खुवाइएको नखुवाइएको बारेमा  जानकारी लियौँ । र, आगामी दिनका लागि प्लान बनायौं । 
यसपछि हामी आइसोलेसन ‘बी’ मा गयौँ । यहाँ पनि अघिकै काम दोहोर्‍यायौं । 
 
राउन्डमा जान तयारी कक्षमा गयौं । सुरुमा हामीले स्क्रब लगायौँ । त्यसपछि तीन तहको मास्क, जसमा पहिलो तहमा सर्जिकल मास्क, दोस्रो तहमा केएन ९५ र तेस्रो तहमा पुनः सर्जिकल मास्क लगायौं । प्रत्येक तहको मास्कमा पेपर टेपले टमक्क पार्‍यौं । ठुलो बुट लगायौं, पिपिई लगायौं, पिपिईमा मिलेसम्म टेप लगाएर टम्म पार्‍यौं । अन्त्यमा पिपिईको टोपी र गगल्स (चस्मा) लगाएर राउन्डका लागि तयार भयौं । पिपिईमा गरिएको विशिष्ट डिजाइनले गर्दा भित्रभित्रै उधुमै गर्मी भएको थियो, कताकता डरसमेत लागिरहेको थियो । मुखबाट निस्केको बाफले गर्दा चस्मा पुरै ढाक्दो रहेछ । जसले गर्दा अक्षरहरु चिन्नसमेत गाह्रो हँुदो रहेछ ।  
नर्सिङ स्टेसनमा तयार पारिएको लिस्ट बाेकेर आइसोलेसन ‘ए’मा पुग्यौं । प्रत्येक बिरामीलाई हेर्दै अवस्था सोध्दै, चेकजाँच गर्‍यौं । चस्मामा लागेको बाफले गर्दा  एउटा आँखाले स्पष्टसँग देख्न सकेको थिइनँ । रेजिडेन्ट दिदी र कार्डियोलोजिस्ट सरले पनि बाफले गर्दा देख्न नसकिरहेको बताउँदै थिए । देब्रे आँखाबाट मैले अलिक राम्रोसँग देखेको हुनाले बिरामीको लिस्ट मैले लिएँ । लिस्टमा भएका कुराहरु उनीहरुलाई सुनाएँ ।  उनीहरुले डिसिजन र उपचारको प्लान बनाए ।
राउन्डका बेला बिरामी र कुरुवाले हामीसँग आक्रोश पोख्नुहुन्थ्यो, सारै दुःख लाग्थ्यो ।  कुरुवाहरु भन्थे– अरू हस्पिटलमा कति चाँडै रिपोर्ट आउँछ, यहाँ किन ढिलो ? मेरो बिरामीलाई आइसोलेसनबाट कहिले निकाल्ने ? कोरोनाको कुनै लक्षण नै छैन म कसरी संक्रमित भए । केही प्रश्नहरुको त उत्तर   दिन्थ्यौ भने कति पटक अनुत्तिरत हुन्थ्यौँ ।
केही कुरुवा र बिरामीले मात्रै  हाम्रो कामको खुलेर प्रशंसा गर्नुभयो ।
 
जति नै मन दुखे पनि डाक्टरी धर्ममा केन्द्रित भएर उत्तर दिन्थ्यौँ । उहाँहरुलाई भन्थ्यौं, ‘तपाईहरुलाई हामीले सकेको र मिल्नेसम्मको उपचार दिइरहेका छाैँ । दिनको तीन पटक राउन्डमा आएर तपाईहरुका समस्या बुझिरहेका छौं । आत्तिएर हुँदैन, धैर्य गर्नुस् ।’ 

डर भगाउने घटना

राउन्डकै बेला एक हृदयविदारक दृश्य देख्नुपर्‍यो । आइसोलेसन वार्डमा १४ वर्षका बालक थिए । उनको मिर्गौला फेल भएको रहेछ । उनको शरीरमा रगतको मात्रा ४.६ मात्रै थियो । उनैलाई कोरोना संक्रमणसमेत भएको थियो ।  तर अचम्मको कुरा, उनको स्याहार गर्ने बुबामा कोरोना संक्रमण थिएन । उनलाई आइसोलेसन वार्डबाट कोरोना पोजेटिभ वार्डमा सार्नु थियो, जहाँ कोरोना पोजेटिभका बिरामी मात्र राखिन्छ । अब उनको हेरविचार कसले गर्ने ? हामीले उनका बुबालाई अवस्था बतायौं । उनका बुबा एकछिन टोलाउनुभयो र मलिन स्वरमा भन्नुभयो, ‘के गर्नु र हजुर, आफ्नो छोरा न हो, बस्नै पर्‍यो आफ्नो छोरासँग । बरु डाक्टरसाब, छोरा र मलाई त्यो वार्डमा अरूभन्दा अलिक टाढा राखिदिनुहोला ।’
उनका रोदनमिश्रत अनुरोधले म एकछिन भावविह्वल भएँ । अघिसम्मको मभित्रको अथाह डरत्रास उनका कुराले कहाँ गयो, पत्तै भएन ।  छिटो छिटो चलिरहेको धड्कन बिस्तारै मत्थर भयो । छोराको उपचारका लागि निरोगी बुबा कोरोना वार्डमा बस्न सहर्ष तयार छन्, म किन डराऊँ । मैले त व्यक्तिगत सुरक्षाका लागि आवश्यक सबै सामग्री लगाएको छ ।
यो घटनापछि म परिवर्तन भएँ । निडर भएको महसुस गरेँ ।  कर्ममा दृढ भएर खटिने उत्प्रेरणा जाग्यो । 
आइसोलेसनको राउन्ड सकेर कोभिड आइसियूमा पुग्नुअघि  आफूलाई स्यानिटाज्ड गरायौं ।  आइसियूमा क्रमैसँग  बिरामी हेर्‍यौं । कसैको औषधि मिलाउनुपर्ने थियो, कसैलाई नयाँ औषधि दिनुपर्ने थियो,  कसैकाे औषधी छुटाउनुपर्ने थियो । यी काम गर्न चस्मामा ढाकिएको बाफले निकै दुःख दिएको थियो । तर जसरी भए पनि बिरामीको सेवा गर्नैपर्थ्याे ।
 
औषधिको फाइल (कार्डेक्स), अनुसन्धान कागज ( इन्भेस्टिगेसन) र फाइल हेर्दै बिरामीको उपचार गर्‍याैँ । हरेक बिरामीको बेडमा पुग्याैँ, होसमा आएका बिरामीसँग बातचित गर्‍यौं । ढाडस दिँदै हिँड्यौं । बेहोस बिरामीलाई सक्दो ज्ञान र सिप प्रयोग गरेर बचाउने कोसिस गर्‍यौं ।
आइसियूको राउन्ड सकिन चार–पाँच लागेको थियो । हामी कोभिड आइसियूबाट बाहिर निस्कियौं र आफूलाई स्यानिटाइज्ड गरायौं ।
यसपछि  लिफ्ट चढेर दोस्रो तलामा आयौ । विधिपूर्वक पिपिई खोल्यौं र नर्मल कक्षमा आयौ ।  शरीरमा पसिनै पसिना भएछ । पिपिईको चस्माको डाम निधारमा बसेछ ।
आफ्नै कपडा लगाएपछि झनै राहत महसुस गरेँ ।  सोचें– आफूमा जतिसुकै डरत्रास भए पनि कोभिडका  बिरामीको  उपचार गरेँ, खुसी छु, यो नै पेसाको सुन्दर पक्ष हो । 

No comments:

Post a Comment